काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
उनले ‘जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ’ भन्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री थापामगरका अनुसार बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटको सक्रियतामा नुवाकोटस्थित देवीघाटमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको छ ।
तुइन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा स्थानीयस्तरमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने उनले विश्वास व्यक्त गरेका छन् ।
“विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्छन्,” मुख्यमन्त्री थापामगरले भनेका छन् ।

उनले जनताको आवश्यकता र सहजताका लागि प्रदेश सरकार निरन्तर काम गरिरहेको बताउँदै आवश्यकताअनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिने स्पष्ट पारेका छन् ।
“विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्ने पूर्वाधार निर्माण र सञ्चालनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छु ।” उनले भने ।
देवीघाटमा तुइन जडान तथा सञ्चालनका लागि सक्रियता र समन्वयका साथ खटिएका पूर्वाधार विकास कार्यालय, नुवाकोटका सम्पूर्ण कर्मचारी तथा प्राविधिकहरूलाई उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
भोटेकोशी र त्रिशूली नदीको बाढीले पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयबासीका लागि तुईन सञ्चालनमा आएसँगै दैनिक आवतजावत तथा अत्यावश्यक सामग्री ओसारपसारमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया