काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ । रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ । केही स्थानमा भने वैकल्पिक मार्गमार्फत यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा १० टनसम्मका मालवाहक सवारीसाधन राति ७ बजेदेखि बिहान ५ बजेसम्म र निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेका छन् ।
मकवानपुरबाट काठमाडौंतर्फ चल्ने सवारीसाधनका लागि पनि नयाँ नियम लागू गरिएको छ । १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्नेछ । कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने सवारीले साँझ ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ ।
१४ सिटभन्दा कम क्षमताका साना सवारी साधनका लागि भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र फर्पिङ–फाखेल–कुलेखानी मार्ग तोकिएको छ । त्रिखण्डी नजिक रहेको बेलीब्रिज कमजोर भएकाले भारी सवारीसाधनलाई डाइभर्सन प्रयोग गर्न प्रहरीले निर्देशन दिएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
उता रसुवाको पासाङ ल्हामु राजमार्ग भने त्रिशूली नदीको कटान र बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ । स्याफ्रुबेँसीतर्फ जाने सवारीका लागि टोखा–छहरे–विदुर–नुवाकोट दरबार हुँदै कालिकास्थान जोड्ने कच्ची सडकलाई वैकल्पिक मार्ग बनाइएको छ ।
यसैगरी, धादिङको कृष्णभीरमा त्रिशूली नदीको कटानले पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भीरमा सडक भासिएकाले एकतर्फी मात्र यातायात चलेको छ ।
मुगुको नाग्मा–गमगढी, रोल्पाको सहिद मार्ग, बझाङको जयपृथ्वी राजमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेकाले सवारी आवतजावत पूर्ण रूपमा ठप्प छ।
विपद्को जोखिम रहेकाले अत्यावश्यक काममा मात्र यात्रा गर्न, लेन अनुशासन पालना गर्न र ट्राफिक प्रहरीको निर्देशिका पालना गर्न नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ ।











प्रतिक्रिया