१ कार्तिक २०८३, शनिबार

भोटेकोशी बाढीमा निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै विशेष यज्ञ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसहित मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक विपद् र दुःखद घटनाबाट ज्यान गुमाएकाहरूको चीर शान्तिको कामना गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित भगवती लुलीदेवी मन्दिर (देवीथान)मा विशेष यज्ञ तथा धार्मिक अनुष्ठान गरिएको छ ।

हालै भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको घटनाले सिंगो देश शोकमा रहेका बेला मृतकहरुप्रति श्रद्धाञ्जली, बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुधबार लुलीदेवी मन्दिरमा विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको हो । अनुष्ठानमा १५ जना ब्राह्मणको सहभागितामा रुद्री, महामृत्युञ्जय पाठ तथा होमहोमादी गरिएको थियो ।

वैदिक विधिअनुसार पूजा, पाठ तथा हवन गर्दै सहभागीहरूले प्राकृतिक विपद्, दुर्घटना तथा अन्य दुःखद घटनाबाट मुलुकलाई जोगाउन प्रार्थना गरेका थिए ।

विशेष यज्ञका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका मृतकहरूको आत्माको चीर शान्ति तथा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो । साथै, बाढीमा बेपत्ता भएकाहरू सकुशल परिवारको सम्पर्कमा फर्किऊन् र घाइतेहरूले शीघ्र स्वास्थ्यलाभ गरून् भन्ने प्रार्थना समेत गरिएको स्थानीय धुर्व सिक्देलले बताए ।

धार्मिक अनुष्ठानमा स्थानीय श्रद्धालु भक्तजन तथा विभिन्न घरपरिवारका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले विपद्का कारण आफन्त गुमाएका तथा पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै ‘अब यस्तो विपत्ति फेरि कहिल्यै नआओस्’ भन्ने भावनासहित सामूहिक रूपमा शान्ति र सुरक्षाको प्रार्थना गरेको स्थानीय अर्जुन दाहालले बताए ।

मुलुकमा पटकपटक आइपर्ने प्राकृतिक विपद् र त्यसबाट हुने मानवीय क्षतिले दिएको पीडाबीच आयोजना गरिएको यस धार्मिक अनुष्ठानले विपत्तिमा परेकाप्रति धार्मिक आस्था, मानवीय संवेदना र सामूहिक सहानुभूतिको सन्देश दिएको छ ।