२८ आश्विन २०८३, बुधबार

उद्धारमा खटिएका प्राविधिक भन्छन्– आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आवश्यक उपकरण तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् ।

मगरले फेसबुकमा लेख्दै प्राविधिकको सुझावअनुसार उद्धारको काम अघि बढाउन आग्रह गरेका हुन् ।

उनले प्राविधिक आवश्यक पर्ने हो भने प्राविधिकले दिएको सुझावअनुसार काम गर्नुपर्ने र त्यसअनुसार काम गर्न नसक्ने भए प्राविधिकलाई नै नबोलाउन समेत आग्रह गरेका छन् ।

‘हेलो माननीयज्यूहरू मेरो एउटा बिन्ती छ । हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्’ उनले लेखेका छन् ।

उद्धार कार्य सुरु भएको छ दिन बितिसक्दा पनि सुरुङभित्र प्रवेश गर्न आवश्यक मार्ग बनाउन नसकिएको उनले उल्लेख गरेका छन् । उनका अनुसार पहिलो दिनदेखि नै तीनचार वटा डोजर र एउटा भत्काउने यन्त्र उपलब्ध भएको भए अहिलेसम्म उद्धार कार्य सम्पन्न भइसक्ने अवस्था थियो ।

उनले तीनवटा डोजर दिनरात सञ्चालन भइरहेको प्रचार भए पनि स्थलगत रूपमा त्यो नभएको दाबी गरेका छन् ।

उनले उद्धारमा ढिलाइ नगर्न सरकारसँग आग्रह गर्दै आवश्यक सबै उपकरण तत्काल घटनास्थलमा उपलब्ध गराएर उद्धार कार्यलाई सहजीकरण गर्न आग्रह गरेका छन् ।