१ कार्तिक २०८३, शनिबार

बाढीपीडितका लागि हाइड्रोजेट दुबईका सञ्चालक विष्णु पुडासैनीको ५१ लाख सहयोग

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

देश विपत्तिमा परेका बेला विदेशमा चुप लागेर बस्न नसकेको बताउँदै पुडासैनीले आफ्नो तर्फबाट मातृभूमिका लागि सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

“विदेशमा बसे पनि मेरो मन नेपालमै छ । देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ । आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको गुण तिर्ने एउटा प्रयास हो,” उनले भने ।

उनले विदेशमा रहेका नेपालीलाई पनि विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन् ।

“देशलाई समस्या परेको बेला हामी जहाँ भए पनि एकजुट हुनुपर्छ । विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,” उनले भने ।

पुडासैनीको यो सहयोगले उनको सामाजिक जिम्मेवारी मात्र देखाउँदैन, विदेशमा बसेर पनि मातृभूमिसँग उनको सम्बन्ध कति गहिरो छ भन्ने पनि देखाउँछ । तर उनको परिचय यतिमै सीमित छैन । उनी विदेशमा सिकेको प्राविधिक सीप र लामो अनुभवलाई आफ्नै उद्यममा रूपान्तरण गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली प्राविधिक क्षमताको पहिचान बनाउन खोजिरहेका उद्यमी हुन् ।

हेटौंडाबाट सुरु भएको उनको प्राविधिक यात्रा अहिले संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई हुँदै खाडी र एसियाली बजारसम्म पुगेको छ । करिब १९ वर्षको इन्जिनियरिङ तथा प्राविधिक अनुभवलाई व्यवसायसँग जोडेर उनले स्थापना गरेको हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस अहिले भूमिगत पाइपलाइन पुनःस्थापना, फोहोर पानी व्यवस्थापन, संरचनात्मक मर्मत, औद्योगिक सरसफाइ तथा विशेष प्राविधिक उपकरणको क्षेत्रमा काम गरिरहेको छ ।

पुडासैनीको उद्यमशीलताको जग कार्यालयमा बसेर बनेको होइन, फिल्डमा काम गर्दागर्दै तयार भएको हो ।

करिब १९ वर्षको प्राविधिक यात्राका क्रममा उनले पानीका पाइपलाइन, ट्यांकी, टनेल, कल्भर्टलगायत जटिल संरचनामा काम गरे । त्यही क्रममा उनले प्राविधिक समस्या कसरी समाधान गर्ने भन्ने मात्र होइन, समस्या किन उत्पन्न हुन्छ र दीर्घकालीन समाधान कसरी खोज्ने भन्ने कुरा पनि नजिकबाट बुझ्दै गए ।

“मैले सिस्टम कसरी चल्छ भन्ने मात्र होइन, गडबडी किन हुन्छ र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुरा फिल्डमै सिकेँ,” उनी भन्छन् । त्यही अनुभव विस्तारै व्यवसायको आधार बन्यो ।

सन् २०१५ मा दुबईमा हाइड्रोजेट स्थापना भयो । कम्पनीले प्रारम्भमा अमेरिका, बेलायत, जर्मनी, पोल्यान्ड, नेदरल्यान्ड्स र टर्कीलगायत मुलुकबाट मेसिन तथा उपकरण आयात गरेर सेवा सञ्चालन गर्‍यो । तर अन्तर्राष्ट्रिय उपकरण प्रयोग गर्दै जाँदा पुडासैनीले एउटा महत्वपूर्ण समस्या महसुस गरे । बजारमा उपलब्ध सबै उपकरणले आफूले सामना गरेका विशिष्ट प्राविधिक समस्या समाधान गर्दैनथे । त्यसपछि उनले बजारमा उपलब्ध मेसिन किनेर मात्र काम गर्नेभन्दा आफ्नै आवश्यकताअनुसार मेसिन र उपकरण विकास गर्ने बाटो रोजे ।

“मेसिन किन्ने मात्र होइन, आफ्नो कामको आवश्यकता अनुसार मेसिन बनाउने बाटो हामीले रोज्यौँ,” उनी भन्छन् ।

साझेदार कारखानाका इन्जिनियरसँग सहकार्य गर्दै कम्पनीले उपकरणको डिजाइनदेखि उत्पादनसम्मको प्रक्रिया अघि बढायो । अहिले हाइड्रोजेट पी एन्ड एस तथा एचटीपी ब्रान्डअन्तर्गत विभिन्न उपकरण उत्पादन भइरहेका छन् ।

पाइपलाइनसम्बन्धी यान्त्रिक उपकरण उत्पादन सुरु गरेको करिब सात वर्ष भइसकेको छ । गेट भल्भ, प्रेसर रिड्युसिङ भल्भ, एयर रिलिज भल्भ, बटरफ्लाई भल्भ तथा विभिन्न आकारका रिपेयर क्ल्याम्पलगायत उपकरण कम्पनीले आफ्नै आवश्यकता र प्राविधिक डिजाइनअनुसार तयार गराउँदै आएको छ । जुन आकारको पाइप हो, त्यसैअनुसार रिपेयर क्ल्याम्प डिजाइन गर्ने र आवश्यकता अनुसार चीनका कारखानासँग सहकार्य गरी उत्पादन गर्ने अभ्यास कम्पनीले अपनाएको छ ।

आफ्नै डिजाइन र उत्पादन प्रक्रियामाथि विश्वास भएकै कारण कम्पनीले आफ्ना केही उत्पादनमा पाँच वर्षसम्मको वारेन्टी दिने गरेको पुडासैनी बताउँछन् ।

“हामीले प्रयोग गर्ने सामग्रीदेखि उत्पादन प्रक्रियासम्म थाहा हुन्छ । त्यसैले गुणस्तरमा विश्वास गर्न सकिन्छ,” उनी भन्छन् ।

हाइड्रोजेटको काम मेसिन उत्पादनमा मात्र सीमित छैन । सानो ड्रेनेज लाइनदेखि उच्च चापका ठूला जेटिङ युनिटसम्म कम्पनीको कामको दायरा फैलिएको छ ।

ढल, वर्षाको पानी, फोहोर पानी तथा सिँचाइका पाइपलाइनमा जमेको फोहोर, बालुवा, तरल पदार्थ तथा अन्य अवरोध हटाउन कम्पनीले विभिन्न जेटिङ युनिट प्रयोग गर्छ ।

निर्माणका क्रममा ताजा कंक्रिट पाइपभित्र पसेर समयसँगै कडा हुने समस्या पनि कम्पनीले समाधान गर्दै आएको छ । त्यस्ता समस्याका लागि डायमन्ड कटर, चेन नोकर तथा विभिन्न कस्टमाइज्ड कटिङ औजार विकास गरिएको छ ।

कंक्रिट कटर, रुट कटर, ग्राउटिङ उपकरणदेखि समुद्री पाइपलाइनभित्र जम्ने कडा पदार्थ हटाउने विशेष डायमन्ड कटरसम्म कम्पनीले तयार गरेको छ । यसरी हेर्दा हाइड्रोजेटका लागि उपकरण उत्पादन छुट्टै व्यापार होइन । फिल्डमा देखिएको समस्या पहिचान गर्ने, त्यसको प्राविधिक कारण बुझ्ने, परीक्षण गर्ने र त्यसअनुसार समाधान विकास गर्ने निरन्तर प्रक्रिया हो ।

पुडासैनीको प्राविधिक यात्राको अर्को महत्वपूर्ण पक्ष मर्मत रसायनको विकास हो ।

भवन तथा संरचनामा देखिने चर्काइ, जग बस्ने, चुहावट र सिपेजजस्ता समस्याका लागि कम्पनीले इन्जेक्सन मर्मत प्रविधि प्रयोग गर्छ । खाडी क्षेत्रको उच्च तापक्रम, हावाको प्रभाव, पानीको गुणस्तर र माटोको अवस्थाले मर्मत रसायनको प्रभावकारितामा फरक पार्नसक्ने भएकाले कम्पनीले आफ्नै आवश्यकताअनुसार रसायन विकासमा काम गरेको हो ।

जर्मनी, मलेसिया, युरोपेली मुलुक तथा चीनका उत्पादनसँग तुलना गर्दै करिब अढाई वर्षसम्म नमुना परीक्षण गरिएको पुडासैनी बताउँछन् । लामो परीक्षण, अनुसन्धान र असफलताबाट सिक्दै आवश्यकताअनुसारको रसायन विकास गरिएको उनको भनाइ छ ।