काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित ३३० जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ । नेपाली सेनाका अनुसार भदौ १५ गते दिउँसो १ः३० बजेसम्म प्रभावित क्षेत्रबाट ३३० जनाको उद्धार गरिएको हो ।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यसमेत जारी छ । त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब १५ मिटर भित्रसम्म पुगेर खोजी तथा उद्धारको काम गरिरहेको नेपाली सेनाले जनाएको छ ।
त्यस्तै, त्रिशूली हाइड्रोको ३बी टनेलमा विज्ञ फौजसहितको टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा समेत संयुक्त उद्धार टोलीले खोजी गरेको थियो । टोली करिब २५० मिटरभित्रसम्म पुगे पनि त्यहाँ मानिस फेला नपरेपछि फर्किएको सेनाले जनाएको छ ।
बाढीबाट प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । सुरक्षाकर्मीहरू खोला, डाँडा तथा प्रभावित स्थानीयका घरघरमा पुगेर बेपत्ता तथा जोखिममा रहेका व्यक्तिको खोजी र उद्धार गरिरहेका छन् ।
नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय संयन्त्रसँग समन्वय गर्दै निरन्तरता दिइरहेको जनाएको छ ।





















प्रतिक्रिया