२८ आश्विन २०८३, बुधबार

विपद् प्रभावित क्षेत्रमा अनुमतिबिना ड्रोन नउडाउन प्राधिकरणको चेतावनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिबिना ड्रोन नउडाउन आग्रह गरेको छ ।

प्राधिकरणले जारी गरेको ‘ड्रोन उडानसम्बन्धी अत्यन्त जरुरी सूचना’मा रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरबाट खोज तथा उद्धार कार्य भइरहेको जनाएको छ ।

उद्धार कार्य भइरहेका बेला केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको प्राधिकरणले जनाएको छ । अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्नसक्ने प्राधिकरणले जनाएको छ ।

अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।