२८ आश्विन २०८३, बुधबार

मृत्युको मुखबाट बाँचेर आएका रावल भन्छन्– टनेलभित्र रहेका साथीहरुको उद्धार भएको छैन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अपर त्रिशूली (२१६)मा कार्यरत सव–इन्जिनियर महेश रावल र उमेश रावलले आफ्नै आँखा अगाडि साथीहरुलाई बाढीको भेलले बगाएको भावुकता व्यक्त गरेका छन् ।

शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनीहरुले राज्यले बाहिर देखिएकाहरुको उद्धारसँगै सुरुङभित्र फसेकाहरुको पनि खोजी कार्यमा तीव्रता दिन आग्रह समेत गरे ।

हाइड्रो पावरमा सव–इन्जिनियरकारुपमा कार्यरत अछाम पञ्चदेवाल विनायक नगरपालिका–७ पुल्लेतोलाका उमेश रावलले आफूहरु भोटेकोशीको भेलबाट केही मिनेटको अन्तरले मात्रै बाँच्न सफल भएको बताए । आफूहरु बाँचेर आउन सफल भए पनि आफ्नै आँखा अगडि साथीहरुलाई भेलले बगाउँदा निकै नै पीडा भएको जनाए । अपर त्रिशूली २१६ मा ड्याम, पावर हाउस र टनेल गरेर ३ हजार बढी कर्मचारी कामदार कार्यरत रहेकोमा १ हजारबढी सम्पर्कविहीन रहेको हुनसक्ने उनले बताए ।

‘सपनाजस्तै लाग्छ त्यो क्षण, बाढी आउने केही जानकारी थिएन, एक्कासी स्वाँस्वाँ र सुँसु गरेको आवाज आएपछि बाहिर निस्कदा त विशाल भेल देखा पर्‍यो, कयौं साथीहरुलाई बगायो, केही हामी भीरमा घाँस समाएर उम्मकन सफल भयौँ,’ रावलले भने ।

बाढीबाट क्षणभरको अन्तरमा बाँच्न सफल सोही आयोजनामा सव–इन्जिनियरकोरुपमा कार्यारत अछाम पुल्लेतोलाकै सुरुङमा कार्यरत महेश रावलले केही भाग्न सफल भए पनि धेरै साथीहरु सुरुङभित्रै फसिरहेको जानकारी दिए ।

उनीहरुको उद्धारको पहल चाँडो गर्न आग्रह गर्दै उनले भने, ‘म लगायत केही साथीहरुमात्रै भाग्न सफल भयौँ, धेरै सुरुङभित्रै फस्नु भएको छ, उहाँहरुको जीवन रक्षाका लागि खोज तथा उद्धारको पहल गर्दा सकुशल हुने सम्भावना बाँकी छ ।’