२८ आश्विन २०८३, बुधबार

त्रिविका पदाधिकारी तथा कर्मचारीले उद्धार कोषमा रकम जम्मा गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकको निर्णय अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।

निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका शिक्षकरकर्मचारीबाट ७ दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट ५ दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिनेछ ।

विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ ।