२८ आश्विन २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य सुजित पाण्डेको ज्यान गयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । बारामा भएको मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा बिहीबार राति बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३३ वर्षीय पाण्डे गम्भीर घाइते भएका थिए । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सई विमलेशकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले घाइते पाण्डेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल रेफर गरिएको थियो ।

तर, बयोधा अस्पतालमा उपचारकै क्रममा राति १०ः५० बजे चिकित्सकले पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी मीनबहादुर घलेले जानकारी दिए ।

पाण्डेको शव बयोधा अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ ।

पाण्डे लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए । उनी यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी युवा संघमा आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय थिए ।

उनी बारा क्षेत्र नम्बर ३ (खका पूर्वप्रदेश सभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिव समेत थिए ।

पछिल्लो समय भने पाण्डे जनमत पार्टीमा आबद्ध भई केन्द्रीय सदस्यको जिम्मेवारीमा सक्रिय थिए ।