काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।
प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो ।
संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रसुवा र नुवाकोटमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा गैरआवासीय नेपालीलाई सहयोगमा जुट्न आह्वान गरे ।
एनआरएनएका उपाध्यक्ष तथा राहत समितिका संयोजक मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहतको प्राथमिकता निर्धारण गरिने बताए ।
एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका उपसंयोजक प्रविन गुरुङले राहत वितरणसँगै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिन आफू बाढी प्रभावित क्षेत्रमा पुगिसकेको बताए । प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने र तत्काल आवश्यकताका आधारमा थप राहत परिचालन गरिने उनको भनाइ छ ।
एनआरएनएका उपाध्यक्ष भीमसेन थापाले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरे।
एनआरएनएले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सामग्री, औषधि लगायत आवश्यक राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरिने संघले जनाएको छ ।
संघका अनुसार तत्कालीन उद्धार र राहतसँगै प्रभावित परिवारको पुनःस्थापनालाई पनि अभियानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाइनेछ । विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गरी वास्तविक रूपमा प्रभावित नागरिकसम्म पुर्याउने गरी अभियान सञ्चालन गरिने एनआरएनएको भनाइ छ ।
प्राकृतिक विपद्का बेला नेपाल र नेपालीको साथमा उभिँदै आएको एनआरएनएले यसपटक पनि पदाधिकारीलाई प्रत्यक्ष रूपमा फिल्डमा परिचालन गरेर राहत तथा उद्धार अभियान अघि बढाएको हो ।
रसुवा र नुवाकोटका बाढीपीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियानमा विश्वभर रहेका नेपालीलाई समेत जोडिन संघले आह्वान गरेको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष एबम मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्याउन विशेष चिकित्सक टोली परिचालन गर्ने बताएका छन् । चिकित्सक टोलीले प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ ।
एनआरएनए टोली राहत तथा उद्धारका लागि विहीबार घटनास्थलतर्फ जाने तयारी भइरहेको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । फिल्डमा संघका पदाधिकारी तथा विभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरूको उपस्थिति रहने उनले बताइन ।
संघले नेपाल सरकारसँग प्रत्यक्ष समन्वयका लागि एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ ।
अधिकारीले प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध गराइने सहयोगबीच प्रभावकारी समन्वय गर्नेछन् ।











प्रतिक्रिया