२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी अपडेट : हालसम्म १६२ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्कविहीन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म १६२ जनाको शव फेला परेको छ । आज विहान करिब ५ बजेसम्मको प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रहरूबाट ती शवहरू फेला परेका हुन् ।

बाढीका कारण हालसम्म ४१ जना घाइतेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने उद्धार तथा खोजी कार्यका लागि ३ हजार ३१८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

हालसम्म फेला परेका शवहरुमा चितवनबाट ६४ जना, धादिङबाट २७, नवलपरासी (पूर्व)बाट २६ जना, गोरखाबाट २० जना, नुवाकोटबाट १२ जना, तनहुँबाट ९ जना, रसुवाबाट २ जना र नवलपरासी (पश्चिम)बाट २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित रसुवा जिल्लाका विभिन्न प्रहरी चौकी तथा इकाइहरूमा कार्यरत कुल ६४ जना प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन रहेका छन् ।

इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत २३ मध्ये १३ जना सम्पर्कमा आएका छन् ।

यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ मध्ये १ जना मात्र सम्पर्कमा आएका छन् । प्रहरी चौकी स्यापुर्बेँसीमा कार्यरत ८ मध्ये ५ जना मात्र सम्पर्कमा आएका छन् ।

यस्तै, अस्थायी प्रहरी पोस्ट, मैलुङमा कार्यरत ८ मध्ये ३ जना सम्पर्क छन् भने प्रहरी चौकी, बेत्रावतीमा कार्यरत १० मध्ये ९ जना सम्पर्कमा छन् । प्रहरी चौकी, हाकुमा कार्यरत ६ मध्ये ५ जना सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएका ४१ घाइतेहरूको काठमाडौं तथा नुवाकोटका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये त्रिवि शिक्षण अस्पताल (टिचिङ) २० जना, त्रिशूली अस्पताल ९ जना, राष्ट्रिय ट्रमा सेन्टर ४ जना, वीर अस्पताल ३ जना, नर्भिक अस्पताल ३ जना, वीरेन्द्र सैनिक अस्पताल १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ ।