काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेकपा (एमाले)ले तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनका सबै संयन्त्र तत्काल परिचालन गर्न आग्रह गरेको हो।
एमालेका अनुसार बाढीका कारण ठूलो संख्यामा नागरिक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएका छन् भने धेरै जना घाइते भएका छन्। टिमुरे बजारसहितका क्षेत्रमा घर, पसल, भन्सार कार्यालय, प्रहरी चौकी, दूरसञ्चार टावर, सडक, पुल तथा जलविद्युत् संरचनामा क्षति पुगेको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र अझै जोखिममा रहेको भन्दै एमालेले स्थानीय बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ।
पार्टीले बेपत्ताको खोजी तथा उद्धार, जोखिममा रहेकाको स्थानान्तरण, घाइतेको तत्काल निःशुल्क उपचार र क्षतिको विवरण संकलनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ। साथै तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पनि आग्रह गरेको छ।
एमालेले आफ्ना नेता, कार्यकर्ता, जनसंगठन र जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएको छ। संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक समाजबीच प्रभावकारी समन्वय गरी उद्धार र राहतलाई तीव्रता दिनसमेत पार्टीले अपिल गरेको छ।













प्रतिक्रिया