काठमाडौं । नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा एकदिने सम्मेलन आयोजना हुन लागेको जानकारी दिएको हो ।
आयोजकका अनुसार सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा विशेषगरी स्टार्टअप, एमएसएमई तथा एसएमई क्षेत्रमा कार्यरत महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत आयोजना गरिनेछ । प्रदर्शनीमार्फत महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
त्यस्तै, सम्मेलनमा बीटुबी तथा बीटुसी नेतवर्कलाई प्राथमिकता दिइनेछ । यसले महिला उद्यमीलाई नयाँ ग्राहक, व्यावसायिक साझेदार, लगानीकर्ता तथा बजारसँग जोडिन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
एकदिने सम्मेलनमा महिला उद्यमीले भोगिरहेका चुनौती, सम्भावना र अवसरका विषयमा बहुआयामिक छलफल गरिनेछ । सम्मेलनमा महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता तथा समुन्नत समाज निर्माणमा योगदान पु¥याउने विषयमा समेत छलफल हुने जनाइएको छ ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल सञ्चालन गरिनेछ । प्यानलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्व सहभागी हुनेछन् ।
त्यस्तै, सम्मेलनको विशेष आकर्षणका रूपमा ‘मेरो उद्यमशील यात्रा’ नामक स्टोरी टेलिङ सेसन सञ्चालन गरिनेछ । उक्त सत्रमा सफल महिला उद्यमीले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता तथा सिकाइ प्रत्यक्ष रूपमा साझा गर्नेछन् ।
कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र समेत सञ्चालन गरिनेछ । केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे महिला उद्यमीलाई जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशालाई समेटेर ‘सानेपा डिक्लियरेसन अन वमन इन्टरपेर्नरसिप’ घोषणा गरिने बताइएको छ ।
सम्मेलन नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा नेपाल महिला संघको सहकार्यमा हुन लागेको हो । कार्यक्रम बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुनेछ ।











प्रतिक्रिया