काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग सोमबारदेखि ९ सिटसम्म क्षमता भएका निजी सवारीसाधनका लागि खुला गरिएको छ।
बिहान ९ बजेदेखि कार, जिप र भ्यानलाई परीक्षणका रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको हो। तत्कालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क आवागमन गर्न सकिनेछ।
सुरुङमार्ग सुरक्षा युनिटका अनुसार परीक्षण अवधिमा चालकको अनुभव र सुरुङभित्र देखिएका सम्भावित समस्याको अध्ययन गरिनेछ। त्यसपछि अन्य सवारीसाधनलाई पनि क्रमशः सञ्चालनको अनुमति दिने तयारी छ।
सुरुङभित्र ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गति चलाउन, ओभरटेक गर्न र सवारी रोक्न निषेध गरिएको छ। हेडलाइट बालेर मात्र सवारी चलाउनुपर्नेछ।
पैदलयात्री, मोटरसाइकल तथा स्कुटर र पेट्रोल–डिजेलजस्ता प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश दिइने छैन।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको २।६८ किलोमिटर लामो मुख्य सुरुङमार्ग गत महिना उद्घाटन गरिएको थियो। उद्घाटनपछि हालसम्म मुख्यतः आपतकालीन तथा अत्यावश्यक सवारीका लागि मात्र प्रयोग हुँदै आएको थियो।











प्रतिक्रिया