काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी पुत्री एवं स्वकीय सचिव गङ्गा दाहालले आफू र परिवारमाथि लगाइएका आरोपको पुष्टि गर्न चुनौती दिएकी छिन् ।
सामाजिक सञ्जालमार्फत दाहालले आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको, नेपालका ठूला घरजग्गा तथा भाटभटेनीलगायतका व्यवसायमा स्वामित्व रहेको र अहिले त्यही आरोपको स्थानमा ५० करोड रुपैयाँको हल्ला फैलाइएको भन्दै पुष्टि गर्न चुनौती दिएकी हुन् ।
आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको उनको भनाइ छ ।
विगतमा ‘दुबईमा ४० अर्ब रहेको’ र ‘भाटभटेनी लगायतका ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ भनी लगाइएका आरोपहरू पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको उनले लेखेकी छिन् ।
‘राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,’ दाहालले लेखेकी छिन्, ‘म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ?’ उनले थप भनेकी छिन्, ‘हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केही समयअघि नै बुझाइसकेका छौँ । सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ । गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ ।’
उनले आफूहरू जनतालाई धोका दिन नसक्ने पनि उल्लेख गरेकी छिन् ।
‘हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ,’ उनले भनेकी छन्, ‘हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो ।’















प्रतिक्रिया