१ कार्तिक २०८३, आइतबार

बाढीले कास्कीमा दुई पुल बगायो, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ भने अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन् ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार आज राति करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो ।

बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको सशस्त्र प्रहरीले जनाएको छ । बाढीका कारण मन्दिरमा एक जना सन्तपुजारी र दुई जना भक्तजन गरी तीन जना फसेको खबर प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ । आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई राति २ः३५ बजे घटनास्थलतर्फ खटाइएको डीएसपी थापाले बताए ।

उद्धार टोलीले जोखिमका बीच मन्दिरमा फसेका तीनै जनालाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी राखेको छ । बाढीका कारण पुल तथा मन्दिरमा भएको क्षतिको थप विवरण आउन बाँकी छ ।