काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किंदैछन् ।
जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेर घाइते भएका देउवा उपचारपछि आज हङकङबाट नेपाल फर्कन लागेका हुन् ।
देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्ने भएका हुन् ।
देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थिए । पछिल्लो समय उनी हङकङमा रहेर स्वास्थ्य उपचार गराइरहेका थिए ।
देउवाको स्वागतका लागि डा. शशांक कोइरालाको नेतृत्वमा पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।
देउवाले मिडिया साक्षात्कार गर्ने कार्यक्रम समेत रहेको छ । उनको स्वागतको लागि ठूलो संख्यामा नेता कार्यकर्ता विमानस्थल पुग्ने बताइएको छ ।
देउवा पक्षका नेताहरूले भोलि शुक्रबार काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्दैछन् । उक्त भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया