कैलाली । कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले बीउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा ल्याएको छ ।
बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा नगरपालिका वडा नं. ४ मा नवनिर्मित उद्योगको भवन एक विशेष समारोहका बिच औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सहकारीमार्फत किसानहरूलाई बीउ उत्पादनमा प्रोत्साहन र सहायता दिनु प्रशंसनीय कार्य भएको बताए । उत्पादनपश्चात् गुणस्तरीय बीउको प्रशोधन र बजारीकरण गर्ने संस्थाको मुख्य उद्देश्यले यस क्षेत्रका कृषकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै उनले सहकारीको प्रयासको सरहाना गरे ।
कार्यक्रममा उद्योग तथा संस्थाबारे विस्तृत जानकारी दिँदै सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले उद्योग सञ्चालनसँगै यस क्षेत्रका किसानहरूले उन्नत जातका धान, गहुँ, मकै, तोरी लगायतका बीउ बिजनको ग्रेडिङ र प्याकेजिङ स्थानीयस्तर मै गर्न पाउने बताए ।
‘किसानहरूलाई उचित मूल्यमा सहज र सर्वसुलभ रूपमा गुणस्तरीय बीउ उपलब्ध गराउने र उचित मुल्यमा किसानका उत्पादनहरु खरिद गरिदिने मुख्य लक्ष्यका साथ यो उद्योग स्थापना गरिएको हो’ महाप्रबन्धक शाहले भने ।
प्रदेश र स्थानीय सरकारको साझेदारी, १ करोड ४१ लाख लगानी
बीउ प्रशोधन उद्योग स्थापनाका लागि सहकारी संस्थाले स्थानीय सरकार (लम्कीचुहा नगरपालिका) र सुदूरपश्चिम प्रदेश सरकारसँग वित्तीय साझेदारी गरेको छ ।
हालसम्म कुल १ करोड ४१ लाख ३० हजार रुपैयाँ लगानी भइसकेको यस उद्योगको भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले २५ लाख र मेसिनरी खरिदका लागि सुदूरपश्चिम प्रदेश सरकारले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको संस्थाले जनाएको छ ।
१४० बिघामा धानको मूल बीउ खेती
उद्योग सञ्चालन तथा बीउ उत्पादनलाई प्रवर्द्धन गर्न सहकारीले ४१ जना कृषक र १ कृषि सहकारी संस्थालाई आवश्यक स्रोत–साधन उपलब्ध गराएको छ । संस्थाको सहयोगमा कृषक र कृषि सहकारीले कुल १४० बिघा क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती सुरु गरिसकेका छन् । यस उद्योगको सञ्चालनबाट सुदूरपश्चिमका किसानहरूले बीउका लागि अन्यत्र निर्भर हुनुपर्ने बाध्यताको अन्त्य हुने र स्थानीयस्तर मै रोजगारीका अवसरहरू समेत सिर्जना हुने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया