काठमाडौं । नेकपा (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने भएको छ ।
पार्टीले आफ्नो देशव्यापी राजनीतिक तथा सङ्गठनात्मक सुदृढीकरण अभियानलाई लक्षित गर्दै स्थानीय तहसम्मै विस्तृत ‘मिसन पार्टी जागरण’ विभिन्न कार्ययोजना सार्वजनिक गरेको थियो । पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र सङ्गठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ सो कार्ययोजना सार्वजनिक गरिएको हो।
यसै अन्तर्गत पार्टीको राजधानी प्रदेश कमिटीद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यता सम्बन्धी कार्यशालामा यसबारे कार्यपत्र प्रस्तुत गर्दै पार्टीका सचिव एवं राजधानी प्रदेश ईन्चार्ज डा.राजन भट्टराईले डिजिटल प्रणालीका जोखिमप्रति सचेत रहँदै पार्टी निर्माण, व्यवस्थापन, परिचालन तथा प्रचार प्रसार क्षेत्रमा डिजिटल प्रणालीको उपयोगलाई जोड दिइने बताए । विशेषगरी पार्टीको विवरण, सांगठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमको प्रयोग गरी अघि बढाउन सम्पूर्ण पार्टी पंक्तिलाई प्रेरित गरिने उनले बताएका छन् ।
उनका अनुसार, आगामी कार्यभारअन्तर्गत भदौ पहिलो साताभित्र पालिका तहका कमिटीहरूले वडा कमिटीको नेतृत्वका साथै केन्द्रीय, प्रदेश र जिल्ला प्रतिनिधिहरू समेटेर ‘मिसन पार्टी जागरण कार्यशाला’ आयोजना गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यस्तै, दोस्रो चरणमा असोज १५ गतेभित्र वडा तहमा टोल कमिटीका नेतृत्व र प्रतिनिधिहरूको सहभागितामा कार्यशाला सम्पन्न गर्नुपर्नेछ। सङ्गठन सुदृढीकरणका लागि पार्टी सदस्यताको अनलाइन अभिलेखीकरण र नवीकरणलाई निकै प्राथमिकता दिइएको हो। यो कार्य आगामी भदौ मसान्तभित्र सम्पन्न गरिसक्न निर्देशन दिँदै नयाँ सदस्यता विस्तारको कार्यलाई भने निरन्तर रूपमा अघि बढाइने बताइएको छ।
साथै, पार्टीभित्र निष्कृय रहेका र पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिएका कमिटीहरूलाई समेत असोज १५ गतेभित्र पुनर्गठन गरिसक्नुपर्नेछ। चाडपर्वको अवसरलाई उपयोग गर्दै आम जनतासँगको सम्बन्ध प्रगाढ बनाउन आगामी दशैँ–तीहारको समयमा टोलस्तरमै विशेष स्थानीय जनसम्पर्क र जनसम्बन्ध विस्तारुका कार्यक्रमहरू सञ्चालन गरिने पनि उल्लेख गरिएको हो ।
यसैगरी, स्थानीय विकास निर्माण र जनसरोकारका विषयमा वडा तथा पालिका तहमा पार्टीले निरन्तर रूपमा अगुवाइ र पहलकदमी लिने नीति लिएको छ। पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताहरूको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि आउँदो कात्तिक र मंसिर महिनाभित्र वडा र पालिकास्तरमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ। समसामयिक राष्ट्रिय राजनीतिक सवाल र विषयहरूमा आवश्यकता अनुसार जनपरिचालन, आन्दोलन र संघर्षका कार्यक्रमहरू समेत गरिने सर्कुलरमा जनाइएको हो। यस्तै, संघर्षका कार्यक्रमहरू भने जिल्ला, प्रदेश र केन्द्रीय कमिटीको प्रत्यक्ष समन्वय र परामर्शमा मात्र सञ्चालन गरिनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजलाई प्राकृतिक तथा अन्य संगठनबाट जोगाउन र कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक भएको बताए। कार्यक्रममा एमाले राजधानी प्रदेश संगठन कमिटीका अध्यक्ष नवराज सिलवाल र सचिव मिलन धरेलले सदस्यता अध्यावधिक गर्ने अभियान र डिजिटलाइजेशन बारे राजधानी प्रदेशको योजना र कार्यतालिका बारे जानकारी गराएका थिए ।















प्रतिक्रिया