१ कार्तिक २०८३, आइतबार

जनकपुर विवाद समाधानका लागि तीन तहका सरकारबीच छलफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङको सक्रीयतामा केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदयबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले शनिबार तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल भएको छ ।

गृहमन्त्री गुरुङको निरन्तर पहल र प्रयासपछि जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयको भवनमा मधेश प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँगै जनकपुरधाम उपमहानगरपालिकाका मेयर र गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो ।

बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिसहित सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेको छ । प्रतिनिधि टोलीले राखेका मागपत्र सरकारले बुझेको र ती मागका विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

सरकारले प्राप्त मागहरूलाई तत्कालीन परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित पक्षसँग छलफल गरेर आवश्यक निर्णयमा पुग्ने जनाएको छ ।

छलफलमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै जनकपुरधामको शान्ति–सुरक्षा र सामान्य वातावरणलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

गृहमन्त्री गुरुङको पहलमा भएको यस छलफललाई पछिल्लो समय देखिएको विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सरकारले सबै पक्षलाई संयमित रहन, आपसी सद्भाव कायम गर्न तथा समस्या समाधानका लागि वार्ता र संवादको वातावरण बनाउन आग्रह समेत गरेको छ ।