काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ६ बुँदे सम्झौता भएको छ ।
सम्झौता अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यस्तै, सम्झौता अनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइनेछ । सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ ।
त्यसैगरी, दुवै मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौतामा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकको तर्फबाट हस्ताक्षर गरिएको छ भने गृह मन्त्रालयको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मृतकहरूको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ ।
















प्रतिक्रिया