१२ श्रावण २०८३, मंगलबार

असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा

आकस्मिक सेवा पनि पूर्णरूपमा बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् ।

गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कारबाही गर्नुको साटो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महशुस गरी सामूहिक राजीनामा दिएको डा. उदयनारायण सिंहले बताए ।

उनका अनुसार ६७ चिकित्सकले सामूहिकमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका छन् ।

बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।

‘हामी माथि नै भएको आक्रमणलाई सेटल डाउन गरेर बिरामीको सेवामा फर्कने वातावरण बनोस् भनेर प्रहरी र प्रशासनसँग वार्तामा गएका थियौँ’, उनले भने, ‘तर त्यहाँ हामीलाई झन् दुईतीन घण्टा थुनेर अपराधीलाई जसरी अपशब्द बोलेर दुर्व्यवहार गरियो । हामीले असुरक्षित महशुस गरेर सामूहिक राजीनामा दिएका हौँ’, डा. सिंहले भने ।

उनीहरूले आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)को समेत राजीनामा मागेका छन् ।

चिकित्सकले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालमा आकस्मिक सेवा पनि पूर्णरूपमा बन्द छ ।