११ श्रावण २०८३, सोमबार

मोरङमा हराएकी ४ वर्षीया बालिकाको शव फेला, हत्या भएको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । सुनवर्षी–९ डाइनियाँस्थित मुस्लिम टोलमा जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन मृत अवस्थामा फेला परेकी छन् ।

शुक्रबार दिउँसो करिब ४ बजेबाट हराएकी बालिकाको शव साँझ घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसीबारीमा फेला परेको थियो ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित गर्दै मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा आवश्यक अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कार भएको संकेत नदेखिएको प्रहरीले जनाएको छ । साथै, पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने आशंकासहित विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनामा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको र खोजी तथा अनुसन्धान तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवालले जानकारी दिएका छन् ।