११ श्रावण २०८३, सोमबार

केपी ओली सरकारले सुरु गरेको नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा आउँदै, नेपाल अब सुरुङ युगमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको बहुप्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि सञ्चालनमा आउँदै छ । करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो परियोजनासँगै नेपाल आधुनिक सुरुङ पूर्वाधारको नयाँ युगमा प्रवेश गरेको छ।

तत्कालिन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते चन्द्रागिरि–२ टुटीपाखामा सुरुङमार्गको शिलान्यास गर्दै नेपालमा पहिलो सडक सुरुङमार्ग निर्माणको औपचारिक सुरुआत गरेका थिए । त्यसबेला सरकारले यसलाई मुलुकको पूर्वाधार विकासमा कोसेढुंगा हुने राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको थियो ।

निर्माणका क्रममा कोभिड–१९ महामारी, आपूर्ति व्यवस्थामा समस्या तथा अन्य प्राविधिक चुनौतीका कारण परियोजना निर्धारित समयमै सम्पन्न हुन नसके पनि अहिले निर्माण पूरा भई सञ्चालनमा आउन लागेको हो ।

आज शुभारम्भ हुन लागेको यो सुरूङ मार्गबाट पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई प्राथमिकता दिइनेछ भने त्यसपछि अन्य सवारीलाई चरणबद्ध रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइने आयोजना कार्यालयले जनाएको छ । सुरुङमार्ग चौबीसै घण्टा सञ्चालनमा रहनेछ ।

कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरका लागि ११५/८० रुपैयाँ तथा बस–ट्रकका लागि २६०/२०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ठूला हेभी सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल तिर्नुपर्नेछ ।

 

पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे तथा अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक सामग्री बोकेका सवारीलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन । टोल भुक्तानीका लागि आरएफआईडीमा आधारित एन–ट्याग र नगद दुवै व्यवस्था गरिएको छ ।

जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यो परियोजनामा जापान सरकारको करिब साढे २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौं–नौबिसे सडकखण्डको यात्रा छोटिने, ट्राफिक जाम कम हुने र यातायात थप सुरक्षित तथा सहज हुने अपेक्षा गरिएको छ । नेपालमा आधुनिक सडक सुरुङमार्गको सुरुआत गराउने आयोजनाका रूपमा यो परियोजनालाई ओली सरकारले अघि बढाएको महत्त्वपूर्ण पूर्वाधार योजनामध्ये एक मानिएको छ ।

तर, सुरुङमार्गको प्रबेशद्वारमा ओलीको नाम अंकित शिलालेख वर्तमान सरकारले हटाएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेका छन् ।