सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गएराति दुई समूहबीच भएको झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा ११ जना घाइते भएका छन् ।
प्रहरी इन्स्पेक्टर प्रकाश राईका अनुसार गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
इन्स्पेक्टर राईले मेहतालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको बताए ।
प्रहरीका अनुसार एक समूह डीजे बजाएर नाचिरहेका बेला अर्को समूह आएर विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिएपछि झडप भएको प्रहरीले जनाएको छ ।
झडप हिंसात्मक बन्दै गएपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको प्रहरीको भनाइ छ ।
गोली लागेर ८ जना घाइते भएका छन् भने झडपका क्रममा तीन जना प्रहरी पनि घाइते भएका छन् ।
घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया