रसुवा । चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी (ईभी) शनिबार साँझ रसुवाको भोटेकोसी नदीमा खस्दा चालकसहित बेपत्ता भएको दुर्घटनामा आइतबार बिहानैदेखि पुनः खोजी कार्य तीव्र पारिएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार दुर्घटनामा बेपत्ता हुने चालक कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् । उनी भन्सार जाँचपास सम्पन्न गरी उक्त नयाँ ईभी काठमाडौंतर्फ लैजाँदै थिए ।
दुर्घटना गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित दक्षिण चलिमे जलविद्युत् केन्द्र अगाडि भएको हो । सडकबाट अनियन्त्रित भएको ईभी भोटेकोशीमा खसेको थियो ।
यसैबीच, गृहमन्त्री सुदन गुरुङ रसुवा भ्रमणमा रहेकाले उनीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी गएराति घटनास्थलमा पुगेका थिए ।
शनिबार राति करिब १० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को ड्याम क्षेत्रसम्म ड्रोनको समेत प्रयोग गरी खोजी गरिएको भए पनि गाडी र चालकको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जानकारी गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार आइतबार बिहानैदेखि नै पुनः खोजी कार्य भइरहेको छ ।








प्रतिक्रिया