काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसिरहेका डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आजबाट औपचारिक संवाद गर्ने भएका छन् ।
हिजो (शनिबार) शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग अनौपचारिक संवाद गरे पनि आजबाट औपचारिक संवाद गर्न लागेका हुन् ।
त्यसका लागि पौडेल शनिबार धनगढी पुगेर डा. केसीसँग साँझ भेटघाट समेत गरिसकेका छन् ।
डा. केसी हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् ।
‘शनिबार डा. केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ,’ पौडेलले हिजो सञ्चारकर्मीसँग भनेका थिए, ‘आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव धनगढी आएपछि औपचारिक संवाद सुरू हुनेछ, सम्भवतः आइतबार नै सहमति हुनेछ ।’
डा. केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि अनसनमा रहेता पनि धनगढीको कृष्ण मन्दिर धर्मशालामा बसेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
डा. केसीको अनसन अनावश्यक भएको भन्दै स्थानीयले उनीविरूद्ध ‘गो ब्याक गोविन्द केसी’ भन्दै नाराबाजी गरेका थिए ।
उनले सुदूरपश्चिममा अनसन बसेर मेडिकल शिक्षामाथि प्रहार गरेको स्थानीयको आरोप रहेको छ ।







प्रतिक्रिया