–सञ्जय मिश्रा
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप र लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ ।
प्रशासनिक तहबाट समाधान हुन नसकेको विवादमा सर्वोच्च अदालतले विपक्षीहरूलाई ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । दर्ता नम्बर ०८३–डब्लुओ–०००८ रहेको उत्प्रेषणसम्बन्धी रिटमा रोशन आउजीसहितका स्थानीय निवेदक छन् भने जिल्ला प्रशासन कार्यालय रौतहटसहित सम्बन्धित निकाय विपक्षी छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रचलित कानुनअनुसार स्वीकृत नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई दुई पटक निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरण मागेको थियो । तर स्थानीयका अनुसार अझै पनि ‘यदुवंशीनगर’ उल्लेख भएका छाप तथा लेटरप्याडको प्रयोग रोकिएको छैन ।
स्थानीयहरूको दाबीअनुसार पेटभर्वा नाम दशकौंदेखि सरकारी अभिलेख र नक्सामा कायम रहेको भए पनि २०७४ सालपछि वडा कार्यालयमा ‘यदुवंशीनगर’ नाम प्रयोग हुन थालेपछि विवाद सुरु भएको हो ।
विरोधपछि केही समय पेटभर्वा नाम प्रयोग गरिए पनि २०७९ को स्थानीय निर्वाचनपछि पुनः पुरानै नाम प्रयोग हुन थालेको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय र कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन् । यही कानुनी आधारमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
वर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले गाउँको नाम परिवर्तन गर्न यसअघि नै नगर कार्यपालिका बैठकले गरेको भन्दै पेटभर्वाको स्थानमा लेटर प्याड र छापमा यदुवंशी नगर प्रयोग गर्दै आएका छन् ।
नामको विवादले गाउँमा दुई समुदायबीच पटकपटक विवाद हुँदै आएको छ ।
स्थानीयहरूका अनुसार विवादले कानुनी र प्रशासनिक विषयसँगै गाउँमा सामाजिक ध्रुवीकरण समेत बढाएको छ । अब सर्वोच्च अदालतको निर्णयले यस विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया