९ श्रावण २०८३, शनिबार

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा १० अर्ब राजस्व सङ्कलन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।

सङ्कलित राजस्वमा आयकर चार अर्ब सात करोड २५ लाख ४१ हजार रुपैयाँ, बहाल आयकर आठ करोड आठ लाख ५५ हजार रुपैयाँ, ब्याज कर ३८ करोड १३ लाख एक हजार रुपैयाँ, मूल्यअभिवृद्धि कर दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार रुपैयाँ, अन्तःशुल्क तीन अर्ब १५ करोड १० लाख ४९ हजार रुपैयाँ, शिक्षा कर ८४ हजार रुपैयाँ र अन्य कर पाँच करोड आठ लाख ३२ हजार रुपैयाँ छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा आठ अर्ब ९३ करोड रुपैयाँ, आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा नौ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा आठ दशमलव ७७ प्रतिशत, आर्थिक वर्ष २०८१/८२ मा सात दशमलव ६१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा सात दशमलव २८ प्रतिशत राजस्व वृद्धि भएको प्रमुख उप्रेतीले बताए ।

कुल ६० हजार ६७५ करदाता आवद्ध रहेको यस कार्यालयले जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा लक्ष्यअनुसार कर असुल गर्न नसकेको र कार्यालय बाहिर गएर काम गर्ने अवस्था पनि नरहेको प्रमुख उप्रेतीले बताए । रासस

Skip This