हेटौंडा । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक र एक नेपाली होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा बिहीबार हेटौंडा–१० स्थित बसपार्कमा रहेको बास्तोला होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारको पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज र बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोला रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले आपसी मिलेमतोमा विभिन्न प्रलोभन देखाएर नेपाली तथा भारतीय नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गरेका मोबाइल उपकरणमा टेलिग्राम, ह्वाट्सएप लगायतका एपमार्फत समूह बनाएर ठगी प्रयोजनका गतिविधि सञ्चालन गरेको तथा रकमको कारोबार समेत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच, उनीहरुले प्रयोग गरेका ह्वाट्सएप र टेलिग्रामका विभिन्न युजर आईडीमार्फत ठगिएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।










प्रतिक्रिया