१० श्रावण २०८३, आइतबार

काठमाडौंमा जग्गा देखाउने भन्दै होटल बोलाएर बेहोस बनाएर लुटपाट, १ महिनापछि महिला पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जग्गा हेर्ने बोलाएर फ्रुटीमा नसालु पदार्थ मिसाई बेहोस बनाएर सुन, नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई करिब एक महिनापछि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दिएको जानकारी अनुसार गत असार १२ गते साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक होटलमा जग्गा हेर्ने भन्दै बोलाइएका पीडितलाई खाजा खाने क्रममा फ्रुटीमा नसालु पदार्थ मिसाई सेवन गराइएको थियो ।

त्यसपछि पीडित बेहोस भएपछि उनीसँग रहेको सुनको औँठी, नगद र मोबाइल लुटपाट गरी महिला फरार भएकी थिइन् ।

घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा खटिएको प्रहरी टोलीले साउन ७ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, चौकोटबाट ४७ वर्षीया संगीता तामाङ कार्कीलाई पक्राउ गरेको हो ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल पनौती–५ बस्दै आएकी कार्कीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।