१० श्रावण २०८३, आइतबार

तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय मिश्रा

रौतहट । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै अधिकारीमाथि तस्करसँग मिलेमतो गरेको आरोप दोहोरिन थालेपछि रौतहटको सीमा सुरक्षा प्रणाली फेरि विवादको केन्द्रमा परेको छ ।

पछिल्लो पटक बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमाथिको जनविश्वास नै कमजोर बन्न पुगेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियोपछि स्थानीयले निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ । यद्यपि अडियोको आधिकारिक प्रामाणिकता भने सम्बन्धित निकायबाट पुष्टि भइसकेको छैन । त्यसैले अडियोको फरेन्सिक परीक्षणसहित वास्तविकता सार्वजनिक गर्नुपर्ने आवाज पनि बलियो बन्दै गएको छ ।

छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न कर्मचारीमाथि कठोर कारबाही गर्ने नीति लिएका छन् । यही नीतिअनुसार बोहरामाथिको अनुसन्धान अघि बढाइएको सुरक्षा स्रोतको दाबी छ ।

स्थानीय व्यापारी तथा सर्वसाधारणका अनुसार व्यक्तिगत प्रयोजनका लागि सीमाबाट ल्याइने सामान्य सामानमा सुरक्षाकर्मीले कडा जाँच गर्ने गरे पनि संगठित तस्करी गर्ने समूह भने निर्बाध रूपमा सक्रिय छन् । बङ्कुल, रामपुरखाप, सरमुजवा लगायतका नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक र हार्डवेयर सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन ।

स्थानीय व्यवसायीको आरोप छ, संगठित तस्करी र सुरक्षा निकायभित्रको कथित साँठगाँठकै कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ । उनीहरूका अनुसार सीमामा तैनाथ सुरक्षा संयन्त्रको प्रभावकारी निगरानी र जवाफदेहिता नहुँदा तस्करी नियन्त्रणको सरकारी दाबी व्यवहारमा कमजोर देखिएको छ ।

जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटले ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको छ । सोही अवधिमा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको तथ्यांक छ । यही तथ्यांकलाई आधार मान्दै केही स्थानीयले सशस्त्र प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर–११ गण मुख्यालय, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सीमा सुरक्षा पोस्ट सञ्चालनमा छन् । यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि सीमापार तस्करी र राजस्व चुहावट नियन्त्रण हुन नसक्नुले सुरक्षा रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ ।

यसैबीच, अडियो सार्वजनिक भएपछि शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी लगायतको टोली बङ्कुल बजार पुगेर स्थानीय व्यापारी र सर्वसाधारणसँग छलफल गरेको थियो । छलफलका क्रममा स्थानीयले इन्स्पेक्टर बोहराको कार्यशैलीबारे गुनासा राख्दै ‘सरुवा मात्र होइन, दोषी प्रमाणित भए कानुनी कारबाही हुनुपर्छ’ भन्ने माग गरेका थिए ।

यता प्रहरी प्रधान कार्यालयले पनि सीमामा बढ्दो गुनासा र आचरणविपरीतका गतिविधिबारे प्रश्न उठेपछि असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्जसहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो ।

रौतहट भारत सीमा विगतदेखि नै संवेदनशील व्यापारिक र तस्करी मार्गका रूपमा चिनिँदै आएको छ । पछिल्ला वर्षहरूमा सुरक्षा निकायले अवैध सामान बरामद गरेको तथ्यांक सार्वजनिक गरे पनि तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसक्नु र बेला–बेलामा सुरक्षाकर्मीमाथि नै मिलेमतोको आरोप लाग्नुले सीमामा सुशासन र जवाफदेहिताको प्रश्नलाई थप गम्भीर बनाएको छ । यस घटनाको निष्पक्ष छानबिन र तथ्य सार्वजनिक हुन सके मात्र सुरक्षा निकायप्रतिको जनविश्वास पुनः स्थापित हुन सक्ने देखिन्छ ।