काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन् ।
शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भवन र स्रोत–साधन खरानी हुँदा पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे ।
उनले भने, ‘आन्दोलनको क्रममा ट्राफिक एफएमका स्रोत–साधन र भवन खरानी भएको अवस्थाको बाबजुद पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणसँगै नयाँ ऊर्जाका साथ अझ दृढ भएर नागरिकप्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै प्रसारण यात्रालाई निरन्तरता दियो । यसलाई अवरुद्ध हुन दिएन ।’
आईजीपी कार्कीले सडक सुरक्षालाई प्रहरीको मात्र जिम्मेवारीका रूपमा बुझ्ने सोच विकास हुन नहुने बताए ।
उनले भने, ‘सडक सुरक्षा मूलभूत रूपमा प्रहरीहरूले मात्र गर्ने होला भन्ने भाष्य विकास नहोस् भन्न चाहन्छु । अरू सबै मुलुकमा सडक सुरक्षा हामी सबैको दायित्व हो । हाम्रोमा पनि त्यही हो । विभिन्न तहका सरकार, सम्बन्धित निकाय, सूचनाको प्रवाह गर्ने सञ्चारमाध्यम, निजी क्षेत्र तथा नागरिक समाजको साझा दायित्वका रूपमा बुझ्दा सडक सुरक्षित हुन्छ र हामी सबै सुरक्षित हुन्छौँ । अन्ततः हामीले चाहेको पनि त्यही नै हो । त्यसका लागि सरोकारवाला निकायसँग परस्पर सहकार्य र समन्वय निरन्तर हुनु अपरिहार्य हुन्छ ।’










प्रतिक्रिया