६ श्रावण २०८३, बुधबार

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् ।

गौरीशंकर गाउँपालिका–९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गएराति करिब ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।

वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ दुई खोलाको बीचमा फसेका छन् । उनीहरू सुरक्षित स्थानमा जान नसक्ने अवस्थामा रहेकाले तत्काल उद्धार आवश्यक भएको उनले बताए ।

बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा समेत क्षति पुर्‍याएको छ । खोलाले दुवैतर्फको जमिन कटान गरेपछि आयोजनास्थल थप जोखिममा परेको र त्यहाँ रहेका कर्मचारीहरू उद्धारको प्रतीक्षामा रहेको जनाइएको छ ।

वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि लगातार बाढी आइरहेकाले उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न चुनौती रहेको उनले बताए ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले बेपत्ता वृद्धको खोजी र जोखिममा परेका चार जनाको सुरक्षित उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।

लगातारको वर्षाका कारण दोलखाका नदी तथा खोलामा जल स्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।