काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै कम्बोडिया र युएई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बस्ने ओखलढुंगा लिखु गाउँपालिका–३ घर भएका २८ वर्षीय प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराज नगरपालिका–१ घर भएकी २४ वर्षीया कविता वेल्वासे रहेका छन् ।
प्रहरीका अनुसार प्रदीपले कम्बोडिया पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ र कविताले युएई पठाइदिने भन्दै अर्का एक जना पीडितबाट १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले प्रदीपलाई आइतबार काठमाडौं महानगरपालिका–३ बाट र कवितालाई सोमबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया