११ श्रावण २०८३, सोमबार

हराएको ट्रक चितवनमा बससँग ठोक्किएको अवस्थामा फेला, फरार सहचालकको खोजी जारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बाट रहस्यमय रूपमा हराएको ट्रक चितवनमा बससँग ठोक्किएको अवस्थामा फेला परेको छ । घटनापछि ट्रक लिएर हिँडेका सहचालक फरार भएका छन् ।

प्रहरीका अनुसार चालक अनोज थापाले आइतबार राति करिब ९ बजे ना ७ ख १३५७ नम्बरको टाटा ट्रक आफ्नै घरअगाडि पार्किङ गरेका थिए ।

रातिको समयमा ट्रकका सहचालकले कसैलाई जानकारी नदिई ट्रक लिएर हिँडेपछि सम्पर्कविहीन भएको भन्दै थापाले सोमबार बिहान प्रहरीमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकै क्रममा सोही ट्रक सोमबार बिहान चितवनको भरतपुर महानगरपालिका–१ रामनगरस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रकले ओभरटेक गर्ने क्रममा म प्र ०३–००१ ख ९५२१ नम्बरको बसलाई ठक्कर दिएको थियो । दुर्घटना पछि ट्रक छाडेर सहचालक फरार भएका छन् ।

हाल ट्रक इलाका प्रहरी कार्यालय रामनगर चितवनको नियन्त्रणमा रहेको छ । ट्रक बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी सोम गुरुङको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।

फरार सहचालकको खोजीका साथै ट्रक अनधिकृत रूपमा कसरी लगियो र दुर्घटनासम्म कसरी पुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सांकेतिक तस्वीर : एआई