११ श्रावण २०८३, सोमबार

एनआरएनए आईसीसी सदस्यमा तुलसीराम पाण्डे मनोनित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डे मनोनित भएका छन् ।

संघले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा संशोधित विधानअनुसार गठन गरेको ५१ सदस्यीय आईसीसीमा उनलाई सदस्यको जिम्मेवारी दिएको हो ।

करिब दुई दशकदेखि कतारमा नेपाली समुदायको हकहित, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा सक्रिय रहँदै आएका पाण्डे सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समुदायका विभिन्न अभियानमा निरन्तर सक्रिय छन् । एनआरएनएमा सुरुदेखि नै आबद्ध रहेका उनी केही समय संस्थागत गतिविधिबाट टाढिएका थिए ।

संस्था एकतापछि साथीहरू, अग्रज तथा एनआरएनए अभियन्ताहरूको आग्रहलाई स्वीकार गर्दै आफू पुनः संस्थामा सक्रिय भएको पाण्डेले बताएका छन् । ‘म संस्था, समाज र नेपालीका लागि केही गर्न फेरि फर्किएको हुँ । मेरो उद्देश्य पद ओगट्नु होइन, काम गर्नु हो,’ पाण्डेले भने ।

उनका अनुसार एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले संस्थागत एकता सुदृढ गर्दै प्रवासी नेपालीको हकहित र अधिकारका पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक छ । यसअघि पाण्डेले एनआरएनए कतारको सल्लाहकारका रूपमा संस्थागत सुधार, समुदायबीच सहकार्य अभिवृद्धि तथा विभिन्न सामाजिक अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । समस्यामा परेका नेपालीलाई सहयोग, सामाजिक एकता प्रवर्द्धन तथा समुदायलाई जोड्ने अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

एनआरएनएले महिला, दोस्रो पुस्ता, विज्ञ समूह तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्बाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५१ सदस्यीय अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पूर्णता दिएको जनाएको छ ।