काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तीर्थ गौतमले पार्टी सभापति गगन थापाले मनोमानी ढंगले पार्टी सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको तयारीबारे आयोजना गरिएको अन्तरक्रियापछि प्रतिक्रिया दिँदै गौतमले पार्टीभित्र लामो समयसम्म आफूहरू पर्खिएपनि नेतृत्वले कुनै सुनुवाइ नगरेको बताए ।
उनले भने, ‘पार्टी सभापति गगन थापा मनोमानी ढंगले अघि बढिरहनुभएको छ । हामीले धेरै समयसम्म कुर्यौँ । उहाँले पार्टी पुस्तान्तरण भयो भन्नुभयो तर पुस्तान्तरण हुँदाहुँदै हामीजस्ता युवालाई समेत पाखा लगाइयो । पार्टीका साथीहरू विक्षिप्त भए, पार्टीमा रहन सक्ने अवस्था पनि कमजोर हुँदै गयो । त्यसैले हामी ढंगबाट अगाडि बढिरहेका छौँ ।’
नेविसंघ र तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता गौतमले आगामी १५ औं महाधिवेशनका लागि थापा नेतृत्वको समूह एकलौटी रुपमा अगाडि बढिरहेको आरोप लगाए ।
गौतमले पार्टीको हितका लागि आफूहरूले धैर्य गर्दै नेतृत्वको निर्णयको प्रतीक्षा गरेको भए पनि चार महिनासम्म कुनै ठोस निष्कर्ष नआएको दाबी गरे । उनले पार्टीका साथीहरू विक्षिप्त अवस्थामा रहेको सुनाए ।
थापाले वार्ताको नाटक गरेर गुटका मान्छेलाई अगाडि बढाएकाले आफूहरु फरक ढंगले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए ।
गौतम उदयपुरका सक्रिय कांग्रेस नेता हुन् ।








प्रतिक्रिया