काठमाडौं । उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन र उपलब्धिहरुबारे जानकारी गराउँदै पाटन उच्च अदालतले आघिल्लो आर्थिक वर्षमा ७१ दशमलव ०५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको हो ।
उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ का लागि लगतको ६६ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०८१/८२ बाट पाँच हजार ६०९ मुद्दा सरेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा १० हजार ५ सय ३० नयाँ मुद्दा दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ । जम्मा लगत १६ हजार १ सय ३९ मध्ये गत आर्थिक वर्षमा ११ हजार ४ सय ६९ वटा मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश लालबहादुर कुँवरले बताए ।
न्यायाधीश कुँवरले न्यायपालिकाको पाँचौँ रणनीतिक योजना र उच्च अदालत पाटनको वार्षिक कार्ययोजनामा निर्दिष्ट गरिएका रणनीति, लक्ष्य र कार्यक्रमहरूका आधारमा कार्य सम्पादन गरिएको जानकारी दिए । अदालतले अवलम्बन गरेको प्रतियोगितात्मक सामूहिक कार्यसम्पादनको प्रयत्नका कारण धेरै सकारात्मक उपलब्धिहरू हासिल भएको उनको भनाइ छ ।
उनले अदालतको इतिहासमै पहिलोपटक १८ महिना र २ वर्ष नाघेका मुद्दाहरूको संख्या शून्यमा झरेको जानकारी दिए । नयाँ दर्ता हुने मुद्दाको तुलनामा फर्छ्यौट संख्या बढी भएकाले अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष सरेर जाने बक्यौता मुद्दाको संख्यामा निकै कमी आएको उनले बताए ।








प्रतिक्रिया