काठमाडौं । आर्थिक वर्ष २०८३/८४ आज (शुक्रबार)देखि औपचारिक रूपमा सुरु भएसँगै बालेन साह नेतृत्वको सरकारले ल्याएको पहिलो बजेट तथा करसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । बजेट कार्यान्वयनमा आएसँगै अब निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवामा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ लागू भएको हो ।
यस्तै, ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने घरायसी ग्राहकले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सबै प्रकारका विद्युत् उपभोक्तामा भने १३ प्रतिशत भ्याट यथावत् कायम गरिएको छ । सरकारले चुरोट, मदिरा, गुट्खा, चिनी बढी भएका पेय पदार्थ, विलासितापूर्ण सवारीसाधन र बहुमूल्य गहनामा कर बढाएको छ । साथै, सरकारले उद्योग प्रवर्द्धनका लागि २७३ प्रकारका कच्चा पदार्थमा भन्सार घटाइएको र ३६० प्रकारका औद्योगिक वस्तुबाट अन्तःशुल्क हटाइएको जनाएको छ ।
यसैगरी, सेयर कारोबारमा नयाँ पुँजीगत लाभकर लागू गरिएको छ भने व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरी अधिकतम आयकर दर २९ प्रतिशतमा झारिएको छ ।
यस्तै, राइड सेयरिङ चालकका लागि प्यान अनिवार्य गरिएको छ । राइड सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिनेहरूले ५ प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ ।







प्रतिक्रिया