१० श्रावण २०८३, आइतबार

कान्तिलोकपथ सुचारु, अरनिको र मेची राजमार्ग अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार साँझ सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुंगा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको छ ।

सडक विभाग लगायत निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको प्रहरीले बताएको छ ।