काठमाडौं । अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरु छोडिएको छैन ।
कार्यालयका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ आउजाउ गर्ने सवारी साधनलाई रोक लगाइएको छ । चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ ।
यसैगरी, बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ ।
फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ । कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द छ । हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सडकको अवस्था र मौसमको जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालनबारे निर्णय गरिने बताइएको छ ।








प्रतिक्रिया