इलाम । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड (लाइफलाइन) मानिएको मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लगातारको वर्षा र जमिन भासिने क्रम नरोकिँदा इलाम सदरमुकाम सहितका माथिल्ला क्षेत्रहरू जिल्लाकै अन्य भू–भाग र तराईबाट विच्छेद भई ‘टापु’ सरह बनेका छन् ।
सडकको समयमै स्तरोन्नति तथा निर्माण कार्य पूरा नहुनु र यस वर्ष फागुन महिनादेखि नै लगातार वर्षा भइरहेका कारण असारको सुरुवातदेखि नै राजदुवाली पहिरोले उग्र रूप लिएको हो ।
राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ सहित मेची पहाडका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।
पूर्वाधारमन्त्री लम्सालको निर्देशन कागजमै सीमित
राजदुवाली क्षेत्रमा जमिन भासिने क्रम निरन्तर जारी छ । सामान्य पानी पर्दा समेत पहिरो खस्ने र हिलो जम्ने भएकाले ठूला तथा साना सवारी साधन गुड्न सक्ने अवस्था छैन ।
वर्षौँदेखि दीर्घकालीन समस्याको रूपमा रहेको यस सडक खण्डको स्थायी समाधानका लागि प्रयास भइरहेको दाबी गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै काम पूरा हुन सकेको छैन ।
केही समयअघि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले क्षतिग्रस्त सडक खण्डको स्थलगत निरीक्षण गर्दै ‘जसरी पनि बर्खायाममा यातायात सेवा सञ्चालन गर्न’ मातहतका निकायलाई कडा निर्देशन दिएका थिए ।
तर, मन्त्रीको निर्देशनपछि पनि सडक खुलाउने र मर्मत गर्ने कार्यले गति लिन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको स्थानीय समाजसेवी ईश्वर चिपालुको गुनासो छ ।
विकल्पका रूपमा हेरिएका सडकहरू पनि बेहाल राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने अन्य ग्रामीण तथा कोरिडोर सडकहरूको अवस्था झनै नाजुक छ ।
वैकल्पिक मार्ग भनिएको मेची करिडोरपूर्ण अवरुद्ध छ ।
यस्तै तिल्केनी–सिमल गोलाई सडक पनि पूर्णरुपमा ठप्प छ । अघिल्लो वर्षको असोजमा आएको विनाशकारी बाढीले क्षति पुर्याएपछि हिउँदभर डाइभर्सन बनाएर मेची करिडोरमा गाडी चलाइएको थियो । तर, बर्खा सुरु भएसँगै पुवाखोलाको बाढीले डाइभर्सन बगाएको छ ।
बेलासीमा बेलिब्रिज जडान गरिए पनि पुवाखोलामा काम सुरु नै नहुँदा यो मार्ग बन्द भउको हो । पुल बनेकै खण्डमा पनि बेलासे–भञ्ज्याङ सडकको हिलाम्मे र जीर्ण अवस्थाका कारण तत्काल सहज यातायातको सम्भावना देखिँदैन । तिल्केनी–सिमल गोलाई सडकको जोगमाई खोलामा रहेको बेलिब्रिज गत वर्षकै बाढीले बगाएको थियो । त्यसपछि स्थानीय प्रशासन र सडक डिभिजनले पटक–पटक अस्थायी डाइभर्सन बनाए पनि बाढीले बगाउने गरेको छ । त्यहाँ पुनः बेलिब्रिज जडान गर्ने योजना त छ, तर आर्थिक वर्षको अन्त्यसम्म पनि जडान कार्य सुरु हुन सकेको छैन ।
यता सडक डिभिजन कार्यालयले भने मन्त्रालयबाट वैकल्पिक सडकमा पर्ने खोलाका लागि बेलिबृज आउने बताएपनि कहिले आइपुग्ने भन्नेमा कार्यालय बेखबर रहेको जनाएको छ भने मेची राजमार्गको राजदुवाली खण्ड समेत तत्कालै संचालनमा ल्याउन नसकिने बताएको छ ।
वैकल्पिक सडकहरू एकैसाथ ठप्प भएपछि इलाम सदरमुकाम, पाँचथर र ताप्लेजुङतर्फ जाने मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । तराईबाट खाद्यान्न, तरकारी, एलपी ग्याँस र औषधि जस्ता अत्यावश्यक सामग्री बोकेर आएका सवारी साधनहरू राजदुवाली मुनिको क्षेत्रमा अलपत्र परेको उधोग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए । सडक लामो समय बन्द रहेमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने पौडेलको भनाई छ ।
सबैभन्दा ठूलो मार आकस्मिक रूपमा उपचारका लागि झापा वा विराटनगर रिफर गरिने बिरामीहरूलाई परेको छ । सडक अवरोधका कारण एम्बुलेन्स समेत आवतजावत गर्न नपाउँदा बिरामीको ज्यान जोखिममा परेको छ ।
स्थानीय सरोकारवालाहरूले सडक डिभिजन, प्रदेश सरकार र संघ सरकारलाई तत्काल मेची राजमार्ग खुलाउन र वैकल्पिक मार्गहरूमा युद्धस्तरमा काम गर्न माग गरेका छन् ।








प्रतिक्रिया