११ श्रावण २०८३, सोमबार

बाढीले खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो ।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ बस्ने ३४ वर्षीय दीपक थिङ समेत ट्रकसँगै बगेका थिए । उनी पौडिएर आफै बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापन गरेको थियो । घाइते थिङलाई उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको छ ।

प्रहरीका अनुसार घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन । खोलामा रहेको ट्रक निकाल्न पहल भइरहेको जनाइएको छ ।