काठमाडौं । स्वतन्त्र चालक फाउण्डेसनले पठाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
फाउण्डेशनले घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।
फाउण्डेसनले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उनको परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।
घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिने उच्चस्तरीय स्वतन्त्र छानबिन समिति, पीडित परिवारलाई राहत, आश्रित परिवारको शिक्षा तथा रोजगारीको व्यवस्था र दोषीमाथि कानुनअनुसार कारबाही गर्ने विषयलाई समयमै कार्यान्वयन गर्न सम्बन्धित निकायसँग फाउण्डेसनले आग्रह गरेको छ ।
फाउण्डेसनले सहमति कागजमा मात्र सीमित नभई पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । छानबिन समितिको प्रतिवेदन निष्पक्ष, पारदर्शी र समयमै सार्वजनिक गरी दोषी देखिएका व्यक्ति वा निकायमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने फाउण्डेसनको माग छ ।
राइडर समुदायको सुरक्षा, सम्मान र पेशागत अधिकारको विषयमा गम्भीर ध्यान दिन सरकारसँग आग्रह गर्दै फाउण्डेसनले डिजिटल प्लेटफर्ममा कार्यरत राइडरहरूको कानुनी पहिचान स्पष्ट गर्न माग गरेको छ । राइडरहरू स्वरोजगार हुन् वा श्रमिक भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने फाउण्डेसनको भनाइ छ ।
यस्तै, बढ्दो महँगी, इन्धन खर्च, सवारीसाधन मर्मत तथा दैनिक सञ्चालन खर्चलाई ध्यानमा राख्दै राइडरहरूको न्यूनतम भाडादर वैज्ञानिक आधारमा निर्धारण गर्नुपर्ने, राइडरहरूको सुरक्षा, बीमा, दुर्घटना राहत तथा सामाजिक सुरक्षासम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने माग पनि फाउण्डेसनले अघि सारेको छ ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सरकारी निकाय, प्लेटफर्म कम्पनी र राइडर प्रतिनिधिबीच समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने फाउण्डेसनको धारणा छ ।
फाउण्डेसनले गणेश नेपालीको न्याय, राइडरहरूको सुरक्षा र अधिकारका लागि सञ्चालन गरिएको अभियानमा सहयोग गर्ने सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा सम्पूर्ण राइडर समुदायप्रति आभार व्यक्त गरेको छ । साथै, आन्दोलनका क्रममा सक्रिय भूमिका निर्वाह गर्ने वार्ता टोली, केन्द्रीय तथा स्थानीय पदाधिकारी, जिल्ला संयोजक, स्वयंसेवक र सम्पूर्ण राइडर समुदायको एकता र योगदानको प्रशंसा गरेको छ ।
फाउण्डेसनले ९ बुँदे सहमति समयमै कार्यान्वयन हुने, छानबिन निष्पक्ष रूपमा सम्पन्न हुने र दोषीमाथि कानुनी कारबाही हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण राइडर समुदायलाई संयमता अपनाउँदै शान्तिपूर्ण र कानुनी माध्यमबाट आफ्ना अधिकारका लागि आवाज उठाउन आग्रह गरेको छ ।









प्रतिक्रिया