३० असार २०८३, मंगलबार

देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ । जसकारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू–भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा तराईमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।