काठमाडौं । वर्षाका कारण जलमग्न बनेको कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मी तथा जेनजी अभियन्तालाई प्रवेश गर्न नदिइएको घटनापछि ओजस्वी थापाको भूमिकामाथि प्रश्न उठेको छ ।
सुकुम्बासीहरुलाई राखिएको होल्डिङ सेन्टर डुबानमा परेपछि उनीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मानवअधिकारकर्मीलाई समेत रोकिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
घटनास्थलमा गृहमन्त्रीको प्रतिनिधिका रूपमा प्रस्तुत भएका ओजस्वीले प्रवेशमा रोक लगाएपछि उनको जिम्मेवारी र सरकारी हैसियतबारे चासो बढेको हो ।
होल्डिङ सेन्टरमा मानवअधिकारकर्मीलाई प्रवेश रोकिएको घटनापछि ओजस्वीले कुन हैसियतमा सुरक्षा तथा व्यवस्थापनको समन्वय गरिरहेका थिए भन्ने विषयमा सरकारसँग सरोकारवालाहरुले प्रश्न गरिरहेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दा ओजस्वी वसन्तपुरस्थित ‘चिया अड्का’का सञ्चालक हुन् । उनी अभिनेता तथा मोडल पनि हुन् र केही सिरियल तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
गत वर्षको जेनजी आन्दोलनमा सक्रियमध्ये एक रहेका ओजस्वी त्यसबेला ‘काउन्सिल अफ जेनजी’ समूहमा आबद्ध थिए ।
आन्दोलनपछि उनी सुधन गुरुङसँग निकट बनेका र निर्वाचनमा सुधनलाई सहयोग गर्न गोर्खामा खटिएका पनि थिए ।
ओजस्वी निकट स्रोतका अनुसार सुधनकै समूहको सदस्य बनेर बालेन र रास्वपा एकता हुँदा केन्द्रीय सदस्य समेत बनेका थिए ।
ओजस्वी सुधन गृहमन्त्री नियुक्तिपछि प्रमुख स्वकीय सचिव बन्ने दौडमा पनि थिए । तर बालेन पत्नी सविना काफ्लेको टिममा बसेर बालेनलाई झापामा सघाएका जेम्स कार्कीलाई सुधनको प्रमुख स्वकीय बनाइएको थियो ।








प्रतिक्रिया