९ श्रावण २०८३, शनिबार

शिक्षा प्रणाली सुधार्न परीक्षा र सिकाइ दुवैमा परिवर्तन आवश्यक : डा. शर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्याम्पियन काठमाडौं स्कूल (सीकेएस)को आयोजनामा सञ्चालन भइरहेको सप्ताहव्यापी ‘सीकेएस साहित्य उत्सव–२०८३’अन्तर्गत ‘शिक्षा संवादः कस्तो हुनुपर्छ अबको शिक्षा ?’ विषयमा सार्वजनिक संवाद कार्यक्रम आयोजना भएको छ । शनिबार काठमाडौं महानगरपालिका–५, हाडीगाउँस्थित हाडीगाउँ डबलीमा यो कार्यक्रम भएको हो ।

संवाद कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले वर्तमान शिक्षा प्रणालीमा सुधारका लागि परीक्षा प्रणाली र सिकाइ प्रक्रियामा परिवर्तन अपरिहार्य रहेको बताए ।

उनले समाजको दृष्टिकोण र संस्कृतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारको आधार नै परीक्षा प्रणाली र सिकाइको पद्धति हुनुपर्ने धारणा व्यक्त गरे ।

‘हामीले परीक्षा प्रणालीलाई र सिकाइ प्रक्रियालाई सुधार गर्नुपर्छ । सिकाइ सुधारको सुरुआत परीक्षाबाटै हुनुपर्छ, त्यसतर्फ परिवर्तन आवश्यक छ,’ उनले भने ।

डा. शर्माले नेपालको पाठ्यक्रम क्षमता–आधारित भए पनि व्यवहारमा अझै पनि पाठ्यपुस्तक घोकाउने प्रवृत्ति कायम रहेको बताए । पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्दै उनले रटानमुखी शिक्षण पद्धति परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले बालबालिकालाई परिवार र विद्यालयबाट दिइने संस्कारले भविष्यको नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘कुनै पनि देशको पाठ्यक्रम तत्कालका लागि मात्र होइन, १० वा २० वर्षपछि कस्तो नागरिक निर्माण गर्ने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ तयार गरिएको हुन्छ, बालबालिकाको सिकाइ उपलब्धि भनेर पाठयक्रमले बोलेको कुराहरुलाई किताब घोकाउने हाम्रो प्रवृत्ति छ । त्यसलाई बदल्नुपर्‍यो, ’ उनले भने ।

कार्यक्रममा टंगाल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारी र चौधरी समूह शिक्षा इकाइका क्लस्टर हेड डा. पीटर लेप्चा वक्ताका रूपमा सहभागी भएका थिए ।

क्याम्पियन काठमाडौं स्कूलकी संयोजक प्रतिभा थापाका अनुसार कार्यक्रममार्फत नेपालको वर्तमान शिक्षा प्रणाली, चुनौती र भविष्यको शिक्षा नीतिबारे खुला छलफल गरिएको थियो ।

Skip This