काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै त्यसलाई गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन् ।
पोखरेलले काठमाडौं महानगर प्रहरीलाई असाधारण अधिकारसहित स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने अभ्यास वर्तमान प्रधानमन्त्री तथा तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको कार्यकालदेखि सुरु भएको बताए । प्रचलित कानुनअनुसार नगर प्रहरीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने व्यवस्था रहेकाले आफू सोही कानुनी मान्यतामा अडिग रहेको उनको भनाइ छ ।
पोखरेलले प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार हालसम्म संघीय सरकारको क्षेत्राधिकारभित्र रहेको उल्लेख गर्दै त्यस कानुनी व्यवस्थालाई बेवास्ता गर्दै गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताए ।
आर्थिक संकटका कारण उत्पन्न मानवीय पीडालाई आम नेपाली समाजको साझा पीडा उल्लेख गर्दै पोखरेलले यसको समाधानका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । हिजो सस्तो लोकप्रियताका लागि घृणाको राजनीति गर्नेहरू आज सरकारमा पुगेपछि आफ्नो सामाजिक दायित्वबाट विमुख भई अरूमाथि दोषारोपण गर्न व्यस्त रहेको पोखरेलको आरोप छ ।
बिहीबारको घटनामा महानगर प्रहरीलाई दोषी देखाइएकोप्रति प्रश्न उठाउँदै पोखरेलले जरिवाना लगाउने र असुल गर्ने जिम्मेवारी महानगर प्रहरीको नभई गृहमन्त्रालयअन्तर्गतको ट्राफिक प्रहरीको भएको उल्लेख गरे । साथै, मधेश प्रदेशमा भएको अर्को यस्तै दुःखद घटनाको जिम्मेवारी अब कसले लिने भन्ने प्रश्न पनि महासचिव पोखरेलले उठाएका छन् ।
समाजलाई भय, त्रास र दोषारोपणको राजनीतिबाट होइन, विधिको शासन, जवाफदेहिता र मानवीयताको आधारमा अघि बढाउनुपर्ने आवश्यकता रहेको पोखरेलको भनाइ छ ।








प्रतिक्रिया